सर्लाही (मलंगवा) । सर्लाहीको मलंगवामा तीन शुन्य क्लवको प्रादेशिक भेला सम्पन्न भएको छ । स्वालम्बन विकास केन्द्र, काठमाण्डौँको समन्वयमा सर्लाहीको ईश्वरपुरस्थित चमेली बचत तथा ऋण सहकारी संस्थाले भेलाको आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन गदै मधेश प्रदेश सरकारका पूर्वमन्त्री तथा प्र्रदेश सभा सदस्य कौशल किशोर रायले संस्थाको यस कार्यले मुलुकमा श्रम गर्ने बानीको विकास भई स्वरोजगार सहितको आर्थिक विकासमा टेवा पुग्ने बताए ।
सम्मेलनमा तीन शून्य क्लबका तीन छुट्टा छुट्टै विषयमा (शून्य गरिवी, शून्य बेरोजगारी, शून्य कार्बन उत्सर्जन) छलफलहरू भएको थियो । कार्यक्रममा भएको विज्ञान प्रदर्शनी प्रतियोगिमा राम गुलाम जनता माध्यमिक विद्यालय मलंगवा पहिलो, पब्लिक माध्यमिक विद्यालय मलंगवा दोश्रो र श्री जलधर कमलदेव नमुना माध्यमिक विद्यालय, ब्रह्मपुरी तेस्रो भएका थिए । विजेताहरूलाई शिल्ड, मेडल कप प्रदान गरिएको थिय । त्यस्तै साहिअवसरमा वेनीभोला नमुना माध्यमिक विद्यालय, गौडैताका विद्यार्थी वेद प्रकाश झा तीन शून्य क्लब उत्कृष्ट सदस्यको रूपमा पुरस्कृत भएका थिए ।
चमेली बचत तथा ऋण सहकारी संस्थाले सर्लाहीका विभिन्न ३० वटा विद्यालय तथा कलेजहरूमा १४०५ वटा तीन शून्य क्लब गठन गरिसकेको छ । क्लबहरूमा जम्मा ७०२५ सदस्यहरू आबद्ध छन् । संस्थाका अध्यक्ष लक्ष्मण साहको अध्यक्षतामा भएको कार्यक्रममा १५ वटा विद्यालयका विद्याथी र शिक्षक सहित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी गरी करिव पाँचसयको संख्यामा उपस्थिति थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साह द्वारा स्वागत मन्तव्य ब्यक्त गरिएको कार्यक्रममा विशिष्ट अतिथिहरू स्वालम्बन विकास केन्द्र, काठमाण्डौँका प्रमुख कार्यकारी अधिकृत वेचन गिरी, नेपाल तीन शून्य क्लब राष्ट्र संयोजक तथा जीवन विकास लघुवित्त कटहरी विराटनगरका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, मलंगवा नगरपालिका–९ का वडा अध्यक्ष चन्देश्वर राय तथा जिल्ला बचत संघका अध्यक्ष मन्दिरा आर्चायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लागू औषध दुरुपयोग निवारणसम्बन्धी नाटक, डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमा सहभागी विद्यालयहरूलाई प्रशंसा पत्र र डस्टबिन तथा विद्यार्थी र अतिथिहरूलाई अमला, तेजपात र ज्याकरण्डाका गरी कुल १५०० बिरुवा वितरण गरिएको संस्थाका सामाजिक तथा उद्यमशीलता अधिकृत कमलेश्वर प्रसाद साहले जानकारी दिए ।
विश्वमा बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम निरन्तर उकालो लागिरहेको र कोभिड–१९ महामारीको दीर्घकालीन प्रभाव तथा विश्वव्यापी आर्थिक मन्दीले गरीबी र बेरोजगारी झनै जटिल बन्दै गएको परिस्थितिमा स्वदेशमै अवसर सिर्जना र युवाहरूको विदेश–पलायन घटाउने उद्येश्य सहित क्लवको थालनी भएको हो । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद यूनुसको नेतृत्वमा शून्य शुद्ध कार्बन उत्सर्जन, गरीबी अन्त्यका लागि शून्य धन–केन्द्रिकरण र उद्यमशीलता प्रवद्र्धनमार्फत शून्य बेरोजगारी प्राप्त गर्ने लक्ष्यसहित तीन शून्य क्लब अभियान सञ्चालन हुँदै आएको छ ।