काठमाडौँ । उच्च अदालत सुर्खेतले विद्यालय शान्ति क्षेत्रमा विरोध, सभा, जुलुस नगर्न परमादेश जारी गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विद्यालय क्षेत्र वरिपरिका विरोध, सभा, जुलुस, धर्नालगायतका गतिविधिले पठनपाठनमा प्रतिकूल असर पारिरहेको भन्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत सुर्खेतले बालबालिकाको पठनपाठनलाई असर नगर्ने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार पक्षलाई परमादेश जारी गरेको हो ।
न्यायाधीश मदन पोख्रेल र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले अधिवक्ता प्रकाश बाबु ऐडीद्वारा दायर रिटमा फैसला सुनाउँदै विद्यालय शान्ति क्षेत्रभित्र कुनै पनि किसिमको अवरोध, सभा, प्रदर्शन, जुलुस नगर्नु पर्ने आदेश जारी गरेको हो ।
रिट निवेदक अधिवक्ता प्रकाश बाबु ऐडीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित पिपल चौतारामा हुने प्रदर्शन, सभा, जुलुस, विरोध कार्यक्रमले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तथा जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठनमा प्रतिकूल असर परेको उल्लेख गर्दै यस्तो गतिविधि तत्काल रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।
उनले प्रदर्शनका कारण विद्यालयमा पढ्ने बालबालिका मात्र नभई सर्वसाधारणको दैनिक आवतजावत, सरकारी कार्यालयहरूमा सेवा लिन गएका सेवाग्राही तथा कार्यालयको सामान्य कामकारबाहीमा समेत असर परेको भन्दै विरोधजनक स्थानहरूलाई निषेधित क्षेत्र घोषणाको माग गरेका थिए ।
अदालतले फैसला सुनाउँदै रिट निवेदकले ठोस रूपमा कुन निकायले कानून विपरीत कार्य गरेको हो भनेर स्पष्ट प्रमाण पेस नगरेको उल्लेख गर्दै समग्र निषेधित क्षेत्र घोषणा गर्न भने आवश्यक नभएको ठहर गरेको छ । तर, विद्यालय शान्ति क्षेत्रभित्र पठनपाठनलाई असर गर्ने कुनै पनि गतिविधि हुन नदिन परमादेश जारी गरिएको छ ।