सुर्खेत । सुर्खेतका सबै स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । बजेटले पूर्वाधार निर्माण, कृषि विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ।
सुर्खेतमा सबैभन्दा ठूलो बजेट वीरेन्द्रनगर नगरपालिकाले प्रस्तुत गरेको छ । उपमेयर नीलकण्ठ खनालले १७औं नगरसभामा कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उपमहानगर बनाउने लक्ष्य सार्वजनिक गरे ।
बजेटमा २ अर्ब ७८ करोड ८४ लाख पुँजीगत र १ अर्ब ५९ करोड ४२ लाख चालू खर्च छुट्ट्याइएको छ । नगरले कर सुधार र आन्तरिक स्रोतको विस्तार गर्दै ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने योजना बनाएको छ ।
वीरेन्द्रनगरलाई शैक्षिक, प्रशासनिक र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनासमेत बजेटमा उल्लेख छ । गुर्भाकोट नगरपालिकाले १ अर्ब १ करोड ६७ लाख ९५ हजार रुपैयाँ बजेट ल्याएको छ, जसमा पुँजीगततर्फ ३९ करोड १ लाख र चालु खर्च ६१ करोड ८६ लाख ७२ हजार रहेको छ ।
पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार, भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार र लेकबेशी नगरपालिकाले ६१ करोड ५१ लाख २ हजार ६०० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
त्यस्तै बराहताल गाउँपालिकाले ६३ करोड ७ लाख ४ हजार ९९९ रुपैयाँ र सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख १९ हजार रुपैयाँ बजेट ल्याएका छन् । सिम्ताले ५२ करोड ६ लाख ८३ हजार चालू र ९ करोड ६ लाख ३६ हजार पुँजीगत खर्च छुट्ट्याएको छ ।
चौकुने गाउँपालिकाले ५७ करोड रुपैयाँ, चिङ्गाड गाउँपालिकाले ४० करोड ८६ लाख ४६ हजार २०७ रुपैयाँको बजेट पारित गरेको छ । चिङ्गाडको बजेटमा ३१ करोड ८३ लाख ९ हजार चालू र ९ करोड ३ लाख ३७ हजार २०७ पुँजीगत खर्च रहेको छ ।
चिङ्गाडले आन्तरिक राजस्वबाट २५ लाखमात्र उठाउने लक्ष्य लिएको छ । अन्य स्रोत संघीय र प्रदेश सरकारको अनुदान रहेको छ । बजेटमा शिक्षामा २ करोड २७ लाख, सडक स्तरोन्नति, व्यावसायिक कृषि, नर्सरी, उद्यमशीलता र स्वास्थ्य सेवा विस्तारका लागि पनि रकम छुट्ट्याइएको छ ।