काठमाडौँ । चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी उनी आफ्नो १० दिने भ्रमण पूरा गरी सोमबार बिहान नेपाल फर्किएकी हुन्।
चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन्।
विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण सफल भएको जानकारी दिए। उनले चिनयाँ उच्चस्तरका नेताहरुसँग भेट भएको समेत जानकारी गराए।
‘सम्माननीय पूर्वराष्ट्रपतिज्यूले सभामा मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुभयो, हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समूदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो,’ भ्रमणबारे जानकारी दिँदै भण्डारीले भने, ‘त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो। चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यु लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ताहरु भयो।’
उनले थपे, ‘खासगरी नेपाल–चीनबीचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबीचका साझा मान्यताहरु, समझदारी र सम्झौताहरु समेत पुर्नताजगि गर्ने भ्रमणका रुपमा रह्यो। यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कुटनीतिहरुका विषयमा समेत छलफल आदान प्रदान भयो।विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने विषयमा समेत प्रतिवद्धता व्यक्त भएको छ।’
भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायत थिए।