काठमाडौँ । जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षणका लागि दैलेखमा बाल हेल्प लाइन, र सेफ हाउस भवन निर्माण कार्य सुरु भएको छ । सहरी विकास मन्त्रालयको एक करोड बजेटमा भवन निर्माण हुन लागेको हो । आइतबार प्रतिनिधि सभा सदस्य सिता कुमारी राना र सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले संयुक्त रूपमा भवनको सिलान्यास गरेका थिए ।
विगतमा अस्थायी रूपमा भाडाको घरमा सञ्चालन हुँदै आएको सेफ हाउस अब भवन निर्माण भएपछि सहज हुने बताइएको छ । हाल एकतले भवन निर्माण गरिनेछ भने, आगामी वर्ष थप बजेट सुनिश्चित भएमा दुई तला थप गर्ने योजना रहेको सोसेक नेपालले जनाएको छ ।
भवनको सिलान्यास गर्दै सांसद सिता कुमारी रानाले सेफ हाउस भवनलाई मानव अधिकार र सामाजिक न्यायको पक्षमा उठाइएको एक महत्वपूर्ण कदम भएको बताइन् । ‘सुरक्षित आवास नभएर पीडितले पुनस्र्थापना र पुनर्जीवनको प्रक्रिया सुरु गर्न सक्दैनन,’ उनले भनिन, ‘यो संरचना उनीहरूका लागि आशाको दियो हुनेछ ।’
त्यस्तै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले भने, ‘जोखिममा परेका महिला तथा बालबालिकालाई सुरक्षित राख्ने स्थानको अभावसँगै ठूलो चुनौती थियो । अब स्थायी संरचना बन्ने भएपछि हामी यो सेवालाई अझ प्रभावकारी बनाउन हुने आशा छ ।’

उनले सेफ हाउस निर्माणका लागि आवश्यक जग्गा सोसेक नेपालले उपलब्ध गराएको कार्यकारी निर्देशक थापाले जानकारी दिए ।
सिलान्यास कार्यक्रममा सहभागी पत्रकार विशाल सुनारले यो संरचना दैलेखका लागि अत्यन्त आवश्यक र प्रतीक्षित भएको बताए।
यो भवन जोखिममा परेका व्यक्तिहरूका लागि मात्र होइन, सामाजिक रूपान्तरणका लागि पनि एउटा आधारशिला हुनेछ', उनले भने, ‘पत्रकारको हैसियतमा म धेरै समयदेखि यस्तो संरचनाको आवश्यकता महसुस गर्दै आएको थिएँ, आज यसको सुरुवात देख्दा अत्यन्त खुसी लागेको छ ।’
‘यो केवल भौतिक संरचना मात्र निर्माण नभएर, यसले आवाज विहीनहरूको पक्षमा बोल्ने, उनीहरूलाई संरक्षण दिने, र पुनर्जीवनको अवसर दिने माध्यम हुनेछ ।’