काठमाडौँ । हेटौँडास्थित सहिद आकाश मेमोरियल क्याम्पसले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी र इन्टर्नशिपको अवसर प्रदान गर्ने उद्देश्यले ‘टेकनोभा फेस्ट २०२५’ आयोजना गरेको छ । बुधबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न औद्योगिक प्रतिष्ठानसँग विद्यार्थीलाई रोजगारीमा पहुँच दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
कार्यक्रममा सूरी टेक्नोलोजी, आरएमसी केमिकल इन्डस्ट्री, सफ्टी हाइजेनिक प्रोडक्ट लगायत ६ उद्योगसँग विद्यार्थीको इन्टर्नशिप र रोजगारीका लागि सम्झौता भएको क्याम्पसले जानकारी दिएको छ । क्याम्पसले आगामी दिनमा यस्तो सहकार्यलाई थप विस्तार गर्दै लैजाने जनाएको छ ।
फेस्टमा एआई विज्ञ ई. सर्वज्ञ न्यौपानेले ‘एआई इन इन्डस्ट्री’ र साइबर सुरक्षा विज्ञ ई. विजय गौतमले ‘इमर्जिङ ट्रेन्ड्स इन आईटी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका ‘च्याट बट’, ‘फिसिङ अट्याक डेमो’, ‘क्यारियर पाथ नेभिगेटर’ जस्ता प्रविधिमा आधारित परियोजनाहरू प्रस्तुत गरिएका थिए।
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका करिब १०० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी र क्याम्पस प्रमुख दिनेश सुवेदीले विद्यार्थीको करियर निर्माणमा केन्द्रित भएर मन्तव्य राखेका थिए ।
क्याम्पसको विद्यार्थी क्लब ‘एसएएमसी टेक क्लब’ को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष महेश मोक्तानले गरेका थिए ।