काठमाडौँ । कतारी सञ्चारमाध्यम अल जजिराको कपिराइट स्ट्राइकका कारण बन्द भएको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल करिब पाँच महिनापछि फिर्ता आएको छ । नेपाल टेलिभिजनका चार ओटै च्यानल क्रमशः सोमबारसम्म फिर्ता आएका हुन् । टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी पाएका नायब महाप्रबन्धक (डीजीएम) चिन्तामणि बरालले लामो कूटनीतिक प्रयासपछि युट्युब च्यानल फिर्ता ल्याउन सफल भएको जानकारी दिए ।
“हामीले प्राविधिक रूपमा केही गरेनौँ, सबै काम कूटनीतिक माध्यमबाट अघि बढायौँ । हामीलाई केही संस्थाहरूले युट्युब च्यानल फिर्ता ल्याउने विषयमा प्रस्ताव पनि गर्नुभएको थियो, तर हामीले स्वीकार गरेनौँ । कानुनी रूपमा अप्ठ्यारो आउन सक्ने जोखिम भएकाले कूटनीतिक सूत्र नै प्रयोग गरेर च्यानल फिर्ता ल्याएका हौँ,” बरालले भने ।
कोहलपुर प्रसारण केन्द्रबाट नेपाल टेलिभिजनको युट्युब च्यानलमा भुलवश अल जजिराको भिडिओ अपलोड भएको थियो । कारण यकिन भएपछि नेपाल टेलिभिजनले आफ्नो सम्बन्धित मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै कतारस्थित नेपाली दूतावासबाट अल जजिरासम्म सम्पर्क स्थापित गर्ने प्रयास गरेको थियो । तर, यो संवादले सार्थकता पाउन सकेन । “बीचबाटै हाम्रो सम्पर्क टुट्यो,” बरालले भने ।
त्यसपछि नेपाल टेलिभिजन (सार्वजनिक प्रसारण सेवा) का अध्यक्ष महेन्द्र विष्ट र बरालले नेपालका लागि कतारका राजदूतसँग भेट गरी समस्या सुनाएका थिए । लिखित रूपमा समस्या समाधान गर्न आग्रह गरेपछि कतारका राजदूतले आफ्नै पहलमा अल जजिराका अधिकारीसँग बरालको सम्पर्क स्थापित गराइदिएका थिए । बरालको टोलीले अल जजिराले मागेका सबै कागजात पेस गरेको थियो । उक्त कागजातबाट नेपाल टेलिभिजनले अन्जानमा भिडिओ अपलोड गरेको पुष्टि भएपछि अल जजिराले च्यानल फिर्ता गरेको हो ।
“उनीहरूले सबै च्यानल एकैपटक फिर्ता गरेनन् । क्रमशः सुरुमा तीनवटा र सोमबार एउटा गरेर चार ओटै च्यानल फिर्ता गरेका हुन्,” बरालले भने ।
फिर्ता आएको नेपाल टेलिभिजनको युट्युब च्यानल भेरिफाइड (प्रमाणित) छ । त्यसमा आठ लाख आठ हजार बढी सब्सक्राइबर छन् । उक्त च्यानलमा नेपाल टेलिभिजनले आठ हजार चार सयभन्दा बढी भिडिओ अपलोड गरिसकेको छ ।