काठमाडौँ । आज बाट धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो ।
सर्वसाधारणका चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको मन्त्रालयले जानकारी दिएको छ । साथै सार्वजनिक विदाको दिन र शनिबार पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । विगतमा धरहरा बिहान १० देखि बेलुका चार बजेसम्म मात्र खुला रहँदै आएको थियो ।
‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं, धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने ।
०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।
सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।
भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन तथा आवास० अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ ।
धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।