काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग कुनै परामर्श नगरी राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीबारे पार्टीले छिट्टै निर्णय लिने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ कार्यक्रममा बोल्दै ओलीले औपचारिक परामर्श संवाद नगरी राजनीतिमा आएकी भण्डारीबारे छिट्टै औपचारिक निर्णय लिने प्रस्ट्याएका हुन् ।
‘विद्याजीको हकमा कहाँ कहाँ परामर्श गर्नुभयो रु कतै त गर्नुभयो होला । तर, मसँचाहिँ परामर्श भएन । पार्टीको अध्यक्ष म छु, अध्यक्षता गरिरहेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु , कसरी काम गरौं, मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउन मिल्छ मिल्दैन । आउँ नआउँ रु देशलाई फाइदा हुन्छ कि हुँदैन,’ ओलीले भने, ‘संवैधानिक प्रक्रिया कस्तो हुन्छ रु अथवा प्रणालीगत अवस्था कस्तो हुन्छ रु त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा सिंगो देशको सर्वमान्यबाट दल विशेषमा आउँदा यी कुनै विषयमा विचार विमर्श अन्तर्राष्ट्रिय अभ्यास के छ रु ती कुरामा विचार विमर्श गरौं भनेर भएन ।’
एकातिर राजावादी उफ्रिने अर्कोतिर आफ्नै दलले निर्णय गरेर पठाएको व्यक्तिले हठात् राजनीतिमा सक्रिय हुन खोजेको भन्दै ओलीले उचित निर्णय लिने बताएका हुन् ।
‘राजतन्त्र पक्षधर उफ्रिरहेका छन् गणतन्त्र फाल्छु भनेर । अरुसँग थाहा छैन मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक सरसल्लाह भएन । पार्टीमा लिखित मौखिक केही भएन । यसैले पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्छ,’ ओलीले भने, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपति हुनु भएको हैन । उहाँ हामीले उम्मेदवार बनाएपछि राष्ट्रपति हुनुभएको हो । पार्टी छोड्नु भएर जानुभएको हो ।’
सम्मानित व्यक्तिले प्रश्न उठाउने काम गरेको भन्दै ओलीले छिट्टै विद्याबारे निर्णय लिने बताए ।
‘निर्णय त गर्नैपर्छ । प्रश्न उठाएपछि आएपछि निर्णय गर्छौं । उहाँ राजनीतिमा आउने कुराले गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा, उहाँकै जीवनमा के असर पर्छ रु उहाँलाई दिनुपर्ने सुझाव र निर्णय पार्टीले गर्छ । हेर्छौं, सल्लाह गर्छौं । उहाँले आफैंले विचार गर्नुपर्छ,’ ओलीले भनेका छन्, ‘हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिक रूपमा बोलेका कुरा के हुन् रु उहाँसँग सोध्नुपर्छ । धेरै ढिलो नगरी निर्णय गर्छौं ।’
अघिल्लो राष्ट्रपति डा.रामवरण यादवले थिति बसाए पनि विद्याले त्यस्तो नगरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘अघिल्लो राष्ट्रपतिजी रामवरणले यो थिति बसाएको देखिन्छ । नैतिक मूल्यमा आधारित भएर थिति बसाउनु भयो,’ ओलीले भनेका छन्, ‘विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’