काठमाडौँ । कतिपय पुरुषको पाको उमेरमा कपाल झर्छ र तालु खुइलिन्छ । कतिपयको युवा उमेरमै त्यस्तो अवस्था सिर्जना हुन्छ। हाम्रै वरिपरि कपाल झरेर तालु खुइलिनेहरू पर्याप्त भेटिन्छन् । तालु खुइलिनुको कारणबारे आम मानीसमा फरक फरक धारणा हुन्छन् । तातो पानीले नुहाए, जुन पायो त्यही साबुन वा स्याम्पुले नुहाए, हेलमेट लगाए कपाल झर्छ भन्ने धारणा छन् । यीमध्ये कुनै पनि धारणा होइनन् । पुरुषमा हुने पुरुष हर्मोन नै यो रोगको मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । ‘तातो पानीले नुहाएर या स्याम्पुको कारणले होइन, धेरैजसो वंशाणुगत कारणले हो,’ वीर अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा. लैला लामाले भनिन् ।
चिकित्सकको अनुसार धेरै जसो तालु खुइलिने समस्या वंशाणुगत रोगको कारणले हुन्छ । पुरुषमा हुने ‘टेस्ट्रेसेजन’ र ‘डिएचइए’ हर्मोनले बढी काम ग¥यो भने भने कपालको जरा नष्ट गर्न थाल्छ । जरा नष्ट गर्दै जाँदा टाउकोको अघिल्लो भाग हुँदै तालुको आधा भाग नै खुइलिन्छ । टाउकोको आधाभन्दा बढी भाग झरेको अवस्थालाई तालु खुइलेको अवस्था भनिन्छ । यो हर्मोन पुरुषमा बुवा या आमा दुवै वंशमा छ भने पछि उनीहरूमा पनि आउँछ । जुन हर्मोनले कपाल झार्ने काम गर्छ । यो हर्मोन केही महिलामा पनि हुन्छ । उनीहरूको पनि पुरुषको जस्तै कपाल झर्ने गरेको चिकित्सक बताउँछन् । त्यसैगरी अनुहारमा धेरै डन्डिफोर आउनेको पनि पछि गएर तालु खुइलेको देखिन्छ । यो डन्डिफोर पनि वंशाणुगत कारणले पनि हुन्छ ।
नेपालमा यो हर्मोन बढी हुने पुरुषको तथ्याङ्क कति छ भन्ने विषयमा यकिन तथ्याङ्क छैन । तर हर्मोनबाट कपाल झरी तालु खुइले बन्ने पुरुषहरू भने उल्लेखनीय संख्यामा देखिएको चिकित्सक बताउँछन् । यो हर्मोन बढ्दै गएपछि पुरुषहरूको निधारतिरबाट कपाल झर्न सुरु हुन्छ । निधारको भाग बढ्दै जानु भनेको यो कपाल झर्न या तालुको भागसम्म कपाल खस्न थालेको लक्षण हो । यो लक्षण थाहा पाउने बित्तिकै सुरुमै उपचार गरे सबै कपाल झर्नबाट रोक्न सकिने पाटन अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा. भाष्कर कायस्थ बताउँछन् । पाटन अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा। भाष्कर कायस्थका अनुसार यो झर्न सुरु भएपछि कपालमा लगाउने तेल पाइन्छ । यसको साथै अत्यन्त कम मात्राको खाने हर्मोन औषधी दिइन्छ । यी दुवै औषधिले शरीरमा अन्य असर नगर्ने डा। कायस्थ बताउँछन् । तर यी दुवै औषधी कपाल झर्न थालेको पहिलो र दोस्रो तहमा नै प्रयोग गर्न सुरु गरिहाल्नुपर्छ । तेस्रो र चौथो तहको कपाल झ¥यो भने कपाल प्रत्यारोपण गर्न सकिन्छ ।
ती औषधी जीवनभर लगाए कपाल झर्नबाट रोक्न सकिन्छ । पछिल्लो समय कपाल झर्न रोक्न विभिन्न खालका औषधी र उपचार बजारमा आएका छन् । ती मध्येमा कपाल प्रत्यारोपण एक हो । पछिल्लो समय आर्थिक रूपमा सक्षम व्यक्तिहरुले कपाल प्रत्यारोपण गर्ने गरेको चिकित्सक बताउँछन् । यसका लागि कपालको पछिल्लो भागमा कपाल भए मात्र सम्भव छ । यो भागको कपाल झिकेर तालुमा रोप्ने गरिन्छ । तर यो प्रविधि अत्यन्त महँगो मानिन्छ ।
कपाल झर्न रोक्नकै लेजर प्रविधिबाट जरा सक्रिय गराउने उपचार पनि उपलब्ध छ । यो उपचार निजी अस्पताल तथा क्लिनिकमा मात्र उपलब्ध छ । सरकारी अस्पतालमा भने कपालमा लगाउने तेल र खाने औषधीका लागि उपचार हुने गर्छ । यसका साथै एन्टिहर्मोन औषधी पनि पाइन्छ । तर यसको कारण शरीरमा अन्य खालको असर देखिने हुनाले यो उपचार प्रभावकारी मानिँदैन । ‘एन्टिहर्मोन औषधीले पुरुष गुणमा कमी आउँछ,’ डा. कायस्थले भने ।