काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न बेलायती वैज्ञानिकहरू एक अनौठो, तर वैज्ञानिक दृष्टिले सम्भाव्य योजनामा जुटेका छन्-सूर्यको प्रकाशलाई पृथ्वीमा पर्न नदिने। यस योजनाअन्तर्गत वायुमण्डलमा विशेष कण (एयरोसोल) छरिनेछ, जसले सूर्यको केही ऊर्जालाई पृथ्वीमा प्रवेश गर्न अवरोध गर्नेछ।
वातावरणीय प्रदूषण र हरितगृह ग्यासको अत्यधिक उत्सर्जनले जलवायु परिवर्तन भयावह बन्दै गइरहेका बेला यो प्रविधिलाई 'जलवायु हेरफेर' को नयाँ विधिका रूपमा लिइएको छ। वैज्ञानिकहरूका अनुसार, पृथ्वीको वायुमण्डलमा सूक्ष्म कणहरू छरिएपछि सूर्यको किरण कमजोर भई सतहमा कम ताप आउनेछ, जसबाट पृथ्वी केही हदसम्म चिसो रहने अपेक्षा गरिएको छ।
यस्तै, अर्काे विकल्पको रूपमा बादललाई अझ उज्यालो बनाउने र त्यसले सूर्यको किरण फिर्ता पठाउने प्रयोग पनि अघि बढाइएको छ। तर, विज्ञहरूले चेतावनी दिएका छन् कि यस्तो प्रविधिले मौसमी चक्रमा गडबडी ल्याउन सक्छ—विशेष गरी वर्षा प्रणाली प्रभावित भई खाद्य उत्पादनमा असर पर्न सक्छ।
यस परियोजनाका लागि बेलायतको एड्भान्स्ड रिसर्च एण्ड इन्भेन्सन एजेन्सी) ले ८० करोड पाउन्ड खर्च गर्ने तयारी गरेको छ, जुन आगामी चार वर्षमा लगानी गरिनेछ।
वैज्ञानिकहरूले भनेका छन्- परीक्षणको क्रममा विषाक्त तत्व प्रयोग नहुनेछ, र वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकनपछि मात्र परीक्षण अगाडि बढाइनेछ। परीक्षण क्षेत्रका स्थानीय समुदायसँग संवाद गरिने र उनीहरूको सहमतिमा योजना कार्यान्वयन गरिने जनाइएको छ।
यद्यपि, वैज्ञानिकहरूले सावधानी अपनाउनुपर्ने चेतावनी दिएका छन् । उनीहरू भन्छन्, “सूर्यको प्रकाश घटाएर मात्र समाधान सम्भव छैन, जबसम्म जीवाश्म इन्धनको खपत रोकिँदैन र हरितगृह ग्यास उत्सर्जन न्यून हुँदैन।”
बेलायती वैज्ञानिकहरूको यो पहल वैज्ञानिक दृष्टिले नयाँ सम्भावना भए पनि यसका दीर्घकालीन असरबारे अझै गहिरो छलफल र परीक्षण आवश्यक देखिन्छ ।