काठमाडौँ । कर्णाली क्षेत्रका प्रमुख समस्याहरूलाई उजागर गर्न सामाजिक अभियन्ता नवराज बोहराले सुरु गरेको ‘खाली खुट्टा खबरदारी अभियान’ आज आठौँ दिनमा प्रवेश गरेको छ। जेठ २ गते सुर्खेतबाट सुरु भएको यो पैदल यात्रा प्रधानमन्त्री कार्यालय, बालुवाटारसम्म पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ।
सुर्खेतका बोहराले नीलो झोला बोकेर थालेको यो अभियानले कर्णालीका चार मुख्य सार्वजनिक सेवा क्षेत्र- ऊर्जा, कृषि, शिक्षा र स्वास्थ्यमा व्याप्त अनियमितता, भ्रष्टाचार र संरचनागत बेथितिविरुद्ध सशक्त आवाज उठाउँने लक्ष्यसहित खाली खुट्टा अभियान संचालन गरेको उनी बताउँछन् । उनी भन्छन्, 'यी क्षेत्रहरूमा देखिएको लापरवाही र भ्रष्टाचारका कारण कर्णाली पछाडि परिरहेको छ, र अब राज्यलाई प्रत्यक्ष खबरदारी गर्नैपर्ने अवस्था आएको हो ।'
“म सरकारको भ्रष्टाचारविरुद्ध छु, तर अराजक शैलीमा विरोध होइन, शान्तिपूर्ण तर प्रभावकारी खबरदारी गर्न चाहन्छु,” उनी भन्छन्, “त्यसैले मोटरसाइकल र्याली, चक्का जाम, स्कुल वा अस्पताल बन्दजस्ता गतिविधि होइन, मैले ‘खाली खुट्टा’ यात्रा रोजेको हुँ ।”
उनको अभियानको क्रममा उनले बाटोमा सर्वसाधारण, विद्यार्थी, कर्मचारी, सामाजिक अभियन्ता र सरोकारवाला निकायहरूसँग भेटघाट र संवाद गर्दै आएका छन् । यी संवादबाट संकलित जनगुनासो, सुझाव र मुद्दाहरू उनी बालुवाटारमा बुझाउने उनी बताउँछन् ।
यस अभियानले सामाजिक सञ्जालमा पनि समर्थन पाइरहेको छ। कर्णाली प्रदेश अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ तथा ‘शून्यको मूल्य’ पुस्तकका लेखक डा. नवराज केसी लगायत विभिन्न सामाजिक र पेशागत पृष्ठभूमिका व्यक्तित्वहरूले यस अभियानप्रति नैतिक समर्थन जनाएका छन्।
“कर्णालीको अवस्था सुधार गर्न जनताले मात्र होइन, अब नेतृत्व तहले पनि गम्भीर जिम्मेवारी लिनु जरुरी छ। खाली खुट्टा यात्रा कर्णालीका आवाज सिधै प्रधानमन्त्रीसम्म पुर्याउने प्रयास हो” बोहराले भने ।