दैलेख । कर्णाली प्रदेशको समृद्ध जडीबुटी स्रोतलाई परिचालन गर्ने उद्देश्यले दैलेखमा एकदिने आयुर्वेदिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश आयुर्वेदिक अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतको आयोजनामा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेखको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका जडीबुटीबारे जानकार स्थानीय सहभागि भएका थिए । अभिमुखीकरणमा जडीबुटीको पहिचान, संकलन, प्रशोधन र आयुर्वेदिक औषधिका रूपमा बजारसम्म पु¥याउने प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा वरिष्ठ कविराज निरीक्षक श्रीराम आचार्यले सहभागीहरूलाई जडीबुटी संकलन, प्रशोधन र औषधि निर्माणका व्यावहारिक पक्षमा प्रशिक्षण दिएका थिए । उनले स्थानीय जडीबुटी सम्पदाको वैज्ञानिक सदुपयोग गर्न सके कर्णाली प्रदेशले आन्तरिक औषधि उत्पादनमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताए ।
नारायण नगरपालिका–६ का सहभागी गुरुप्रसाद रेग्मीले कर्णाली प्रदेशमा प्रशस्त मात्रामा पाइने जडीबुटीको व्यावसायिक संकलन र प्रशोधन गर्न सरकारले आवश्यक तालिम र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

त्यस्तै, नौमुले गाउँपालिका–१ का मायाराम शर्माले परम्परागत वैद्यकीय पद्धतिमा आधारित आयुर्वेदिक औषधि मानव स्वास्थ्यका लागि प्रभावकारी भएको र अहिलेको रासायनिक औषधिको विकल्पका रूपमा प्रयोग हुन सक्ने सम्भावनामा जोड दिए । ूहाम्रा बाजे–बुवाले प्रयोग गर्दै आएका जडीबुटीको महत्व अहिले झन् बढेको छ, राज्यले यस क्षेत्रमा लगानी गरेमा जनस्वास्थ्यसँगै आर्थिक उन्नति पनि सम्भव छ,ू उनले भने।
कार्यक्रममा जडीबुटीको पहिचान, सुरक्षित संकलन विधि, भण्डारण प्रणाली र बजारसम्म पु¥याउने उपायहरूबारे छलफल गरिएको थियो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेखका प्रमुख डा. यादव प्रसाद उपाध्यायले कर्णालीको जडीबुटी सम्भावना ठूलो भए पनि वैज्ञानिक पद्धतिमा यसको संकलन र प्रयोग नगरेसम्म यसको वास्तविक लाभ लिन नसकिने बताए ।