काठमाडौँ । प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले नेपालमा तीव्र रूपमा नष्ट हुँदै गएको कृषि जैविक विविधताको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीवार संसदमा बोल्दै उनले हालसम्म करिब ४० प्रतिशत जैविक विविधता नष्ट भइसकेको गम्भीर अवस्थाका बीच अब ढिला नगरी संरक्षणका ठोस पहलहरू गर्न आवश्यक रहेको बताइन् ।
सांसद रानाले कृषि जैविक विविधताको संरक्षणका लागि बाली, घाँसेबाली, पशुपंक्षी, कृषि किरा, सूक्ष्म जीवाणु र जलीय आनुवंशिक स्रोतसम्बन्धी छवटा सम्भागमा समान रूपमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । उनले रैथाने कृषि आनुवंशिक स्रोतको संरक्षण र प्रवर्धनका लागि राष्ट्रिय गौरवको आयोजना संचालन गर्न आवश्यक रहेको सुझाव दिइन् ।
शैक्षिक पाठ्यक्रममा स्थानीय जैविक संरक्षणका विषय अनिवार्यरूपमा समावेश गर्नुपर्ने बताउँदै, विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी रैथाने खाजाको अवधारणा तुरुन्त लागू गर्नुपर्ने आवश्यकतामाथि पनि उनले प्रकाश पारिन् ।
नेपालको विशिष्ट कृषि उत्पादनहरू- जस्तै कोदोको रक्सी, अकबरे खुर्सानी, मार्सी धान, सिमी, दैलेखको गुडे चामल र आलुलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन भौगोलिक संकेतको नीति अघि बढाउनुपर्नेमा सांसद रानाले जोड दिइन् ।
स्थानीय जैविक सम्पदाको संरक्षणबाट रोजगारी सिर्जना र समृद्धिको सम्भावना समेत रहेको उल्लेख गर्दै उहाँले सरकारलाई नीतिगत पहलमा सक्रिय हुन आग्रह रानाले आग्रह गरिन् ।