काठमाडौँ । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिचको वार्ता सुरू भएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता सुरू भएको हो ।
आजको वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू समेत उपस्थित छन् । हिजो अबेर रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो ।
आज दुवै पक्षले अन्तिम रूप दिने जनाएका छन् । महासङ्घका महासचिव तुला बहादुर थापाले हिजोको वार्ता सकारात्मक भएको र आजको छलफलले थप सार्थकता पाउने बताए ।
महासङ्घले पेस गरेको ९ बुँदे प्रस्तावमाथि सहमतिको प्रयास खोजिँदै छ । आजको वार्तामा सहमति जुटेको खण्डमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नेछ ।
ती मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सात वटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ ।
त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने ।
त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने र सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने महासङ्घको प्रस्ताव छ ।
त्यस्तै आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्नुपर्ने लगायतका माग छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन् ।
सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासङ्घले जनाएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न दिने गरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने जनाएका छन् ।