काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित जारी शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालयमा सुरु हुनुपर्ने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । सरकारले वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्ने योजना बनाए पनि आन्दोलनका कारण अधिकांश विद्यालय बन्द छन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत शैक्षिक हड्तालसमेत घोषणा गरिएको छ। आन्दोलनको समर्थनमा देशभरका सामुदायिक विद्यालयहरूले सूचना प्रकाशित गरी पठनपाठन, परीक्षा र अन्य शैक्षिक गतिविधि बन्द गरेका छन् ।
दैलेखको चमुण्डाबिन्द्रासैनी नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जनकबहादुर कार्कीले विद्यालयले चैत्र २५ गतेसम्म कक्षा ८ बाहेक अन्य सबै कक्षाको नतिजा सार्वजनिक गरेर बन्द गरिएको जानकारी दिए । “हामी आन्दोलनमा सहभागी भएर सुर्खेत फर्किएका छौँ। सरकारको निर्णय हेरेर पुनः काठमाडौं जान्छौँ,” उनले भने ।
यस्तै, सुर्खेतको पञ्चपुरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले पनि आन्दोलनका कारण विद्यालयका सम्पूर्ण गतिविधि बन्द रहेको बताए ।
“नेपाल शिक्षक महासङ्घको निर्देशनअनुसार पठनपाठन पूर्ण रूपमा रोकिएको छ,” उनले भने, “म पनि आन्दोलनमा थिएँ, पारिवारिक कारणले घरमा आएको हुँ, तर माग सम्बोधन नभए पुनः काठमाडौं जान्छु ।”
सापकोटाले सरकारी शिक्षकका सन्तानले पनि सरकारी विद्यालयमै अध्ययन गर्नुपर्ने आवाजलाई जायज बताउँदै यो नैतिकताको विषय भएको धारणा राखे । “प्रधानाध्यापक हुँदा मैले शिक्षक-कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरेको थिएँ, यस्तो अभ्यास सबैले गर्नुपर्छ,” उनले भने ।
दैलेखको ठाटीकाँध गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्रबहादुर थापाले जिल्लाका सबै सामुदायिक विद्यालय बन्द रहेको र त्यसले विद्यार्थी भर्ना अभियान पूर्ण रूपमा प्रभावित भएको जानकारी दिए । “आजभोलि सरकारसँग वार्ता भएर समाधान निस्कने आशा छ,” उनले भने ।
शिक्षकहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने भएकाले भर्ना अभियान मात्र नभई वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत देखिएको छ। लगातारको शैक्षिक हड्तालले देशभरको शैक्षिक प्रणाली अनिश्चित बनेको छ।