काठमाडौँ । जिल्लाको ऐतिहासिक, धार्मिक एवंम पर्यटकीय महत्व बोकेको पञ्चकोशी क्षेत्रको प्रमुख तीर्थस्थल शिरिस्थान–नाभीस्थान, डाडीमाँडी हुँदै चामुण्डा राकम जोड्ने सडक अन्र्तगतको शिरिस्थान–नाभीस्थान खण्ड वर्षा सुरु नहुँदै अवरुद्ध हुन थालेको छ । वर्षा नहुँदै अवरुद्ध हुन थालेपछि तीर्थयात्रीहरूलाई गन्तव्य पुग्न कठिनाइ भएको छ । धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा चिनिने यस मन्दिरमा दैनिकजसो भक्तजनहरूको आवागमन हुने गरे पनि सडकको दयनीय अवस्थाले तीर्थयात्रीले सास्ती भोगिरहेका छन ।
शिरिस्थान मन्दिरमा अनवरत बलिरहने ज्वालाले स्थानीयहरूमा धार्मिक आस्था बढाउनुका साथै हरेक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ । तर, यसको विकास र संरक्षणप्रति स्थानीय, प्रदेश वा संघीय सरकारको पर्याप्त चासो नदेखिएको मन्दिरका पूजारी गोकर्णनाथ योगी बताउँछन ।
टिपरले तान्नुपर्ने बाध्यता
हालसालैको सामान्य वर्षाले गर्दा पनि मन्दिरसम्मको बाटो हिलाम्य बनेको छ । घाम लागेको समयमा धुलाम्य र पानी पर्दा हिलाम्मे हुने समस्याले गर्दा भक्तजनका सवारीसाधनहरू बीच बाटोमै फसेपछि टिपर प्रयोग गरी तान्नुपर्ने अवस्था आएको ज्वालाको दर्शन गर्न पुगेका भक्तजन सुरविर शर्माले बताए । उनले स्थानीय सरकारहरूले हरेक वर्ष बजेट छुट्याए पनि सोचेअनुसारको पूर्वाधार विकास नहुनुमा अल्प बजेट र कार्यान्वयनको कमजोरी प्रमुख कारण रहेको औँल्याए ।
अहिलेकै यो सामान्य वर्षाले पनि मन्दिर वरपरका सडकको अवस्था नाजुक बन्न पुगेका छन, जसले पञ्चकोशी तीर्थयात्रा क्षेत्रसम्मको यात्रा जोखिमपूर्ण बनाइरहेको छ । स्थानीय नागेन्द्रबहादुर थापाले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सडक सञ्जालको नियमित मर्मत र स्तरोन्नति गरी तीर्थयात्रु तथा पर्यटकहरूको सहज आगमन सुनिश्चित गर्न माग गरे ।
यता, भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवि भण्डारीले संघ र प्रदेशका योजनामा आफूहरू सन्तुष्ट नभएको बताइन । उनले भनिन, ‘संघ र प्रदेशका योजनाहरू कार्यान्वयनको चरणमा जाँदा हामीसँग कुनै समन्वय हुँदैन । हामीसँग समन्वय गरेको भए हाम्रा प्राविधिक पठाउँथ्यौँ ।’
उनले स्थानीय तहलाई प्रदेश र संघका योजनामा बेवास्ता गर्ने परिपाटी रहेको गुनासो गरिन । ‘उहाँहरूसँग प्राविधिकको समस्या भए हामी पठाउँछौँ हाम्रा प्राविधिक तर स्थानीय तहले जम्मै प्रदेश र संघका योजनामा बेवास्ता गरिएको छ,’ भण्डारीले आक्रोश व्यक्त गरिन ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाहीले उक्त सडक र जिर्ण काठेपुल निर्माण गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले संसदसँगै ठेकेदारसँग निर्माणका लागि पहल गर्ने बताए । ‘त्यहाँको समस्याबारे म अवगत नै छु,’ उनले भने, ‘त्यो विषयमा म समयमै काम गर्ने गरी ठेकेदारसँग पहल थाल्छु ।’
(ईआईए) नहुँदा रोकियो निर्माण कार्य
धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शिरिस्थान मन्दिर क्षेत्र पुग्ने सडकको निर्माण २०७९ साल भदौ ९ गते १८ करोड ६ लाख रुपैयाँमा सम्झौता भई सुरु भएको भए पनि हालसम्म ४६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गुल्मीस्थित पन्थ निर्माण सेवाले ठेक्का पाएको यो १४ किलोमिटरको सडक खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र रुख कटानको स्वीकृति नभएका कारण निर्माण कार्य रोकिएको पूर्वाधार विकास कार्यालय दैलेखले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय दैलेखका अनुसार गमौडी, सातखम्ब लगायतका स्थानमा सडक निर्माणको काम सम्पन्न भइसकेको छ । तर, शिरिस्थान–नाविस्थान खण्डमा पर्ने घना वन क्षेत्रका कारण बाँकी काम अघि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रविण कार्कीका अनुसार, ‘शुरुमा वातावरणीय अध्ययन नभएका कारण निर्माण कार्य रोकिएको थियो । अहिले अध्ययन सम्पन्न भई स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
शिरिस्थान मन्दिर दैनिक सयौं भक्तजन तथा पर्यटकको गन्तव्य बनेको छ । तर, बाटोको अवस्था बिग्रँदै जाँदा तीर्थयात्रीहरूले यात्रा जोखिम मोलेर गर्नुपर्ने अवस्था छ । वर्षा सुरु नहुँदै सडक हिलाम्मे बन्नु, पुल बग्नुजस्ता घटनाले पञ्चकोशी क्षेत्रको महत्वमा प्रतिकूल असर पारेको स्थानीयवासी बताउँछन ।
पूर्वाधार कार्यालयले जानकारी दिएअनुसार, सडक निर्माणको क्रममा पर्ने रुख कटानका लागि स्वीकृति नआउँदा ठेकेदार कम्पनीले बाँकी काम रोक्नुपरेको हो । ‘वातावरणीय स्वीकृति प्राप्त भएलगत्तै रुख कटान गरिने र काम तीव्र पारिनेछ,’ कार्यालय प्रमुख कार्कीले स्पष्ट पारे ।
बाढीले जिर्ण बनाएको श्रीस्थानको काठेपुल अझै बनेन
करिब १२ लाख ५० हजार रुपैयाँको लागतमा शिरिस्थान खोलामा निर्माण गरिएको काठे पुल गत भदौ २ गतेको बाढीले जिर्ण बनाएकोे छ । बाढीले जिर्ण बनाएको पुल पुनः निर्माण गर्न हालसम्म कुनै ठोस पहल नदेखिएको भन्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनाथ योगीले चिन्ता व्यक्त गरे ।
शिरिस्थान सडकको दयनीय अवस्था र पुल पुनर्निर्माणमा देखिएको ढिलाइमा विभिन्न सरकारी निकायबीचको समन्वय अभाव मुख्य कारण रहेको सरोकारवालाहरूले औंल्याएका छन ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले शिरिस्थान खोलामा बाढीले जिर्ण बनाएको पुल पुनःनिर्माणका लागि आठ लाख बजेट छुट्याएको बताए । त्यस्तै नाविस्थान खोलामा नयाँ पुल निर्माण कार्य सुरु भइसकेको उनले बताए ।
नगरप्रमुख रिजालका अनुसार, ‘त्यो सडकको ठेक्का प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय सुर्खेतबाट टेन्डर भएर ठेक्का सम्झौता भएको हो । र अर्को कुरा वनको (ईआईए) नभएर त्यो सडकको काम अघि बढ्न सकेको छैन ।’
उनले शिरिस्थानको जीर्ण पुल बनाउनका लागि ८ लाख रुपैयाँ छुट्याएको जानकारी दिए । साथै, २७ लाख रुपैयाँमा दल्लु नगरपालिकाले सोही ठाउँमा भक्तजनहरूको सहजताका लागि धर्मशाला पनि निर्माण गरिरहेको उनले बताए ।
भैरवी गाउँपालिका उपाध्यक्ष भण्डारीले वन क्षेत्रका कारण सडकको काममा समस्या आएको र ठेकेदारले चलाखी गरी वारी काम गर्ने र पारी काम गरेर आफ्नो ‘क्वान्टिटी’ (परिमाण) सकाउने गरेको समेत भण्डारीले आरोप लगाइन ।