काठमाडौँ । दैलेखको दुल्लु नगरपालिकामा खानेपानी योजनाहरूको दिगोपना सुनिश्चित गर्न स्थानीय सरकार, उपभोक्ता समिति र सरोकारवाला निकायहरूले संयुक्त प्रतिबद्धता जनाएका छन् । मंगलवार सम्पन्न खानेपानी तथा सरसफाइ योजना सरोकारवाला सम्मेलनमा योजनाको दीर्घकालीन सञ्चालन र गुणस्तरीय सेवाबारे छलफल भएको थियो ।
स्वच्छ पानी नागरिकको मौलिक अधिकार भएको र योजना सफल बनाउन सबै सचेत र उत्तरदायी हुनुपर्नेमा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले बताइन् । संघ, प्रदेश र स्थानीय तहका साझेदारी कार्यक्रम र सीपमूलक नीतिहरूको आवश्यकता रहेको उनले औँल्याइन् ।
त्यस्तै दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले खानेपानी योजनालाई दीर्घकालीन बनाउन रुख काट्न रोक लगाउने, बाटो खन्ने काम व्यवस्थित गर्ने र वृक्षारोपण गर्ने योजना रहेको जानकारी दिए । गुणस्तरीय पानी परीक्षणका लागि ल्याबको व्यवस्था गरिएको उनले बताए ।
खानेपानी बोर्डका अध्यक्ष भागवत हमालले लिफ्टिङ योजनामा मोटर बिग्रिने प्राविधिक समस्या रहेको स्वीकार गर्दै यसको समाधानका लागि नयाँ रणनीति ल्याउने तयारी भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत तिलक विकले खानेपानी व्यवस्थापन बोर्डलाई थप सशक्त बनाई सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छहरेखोला सोलार लिफ्ट खानेपानी योजनाकी अध्यक्ष मधु उपाध्यायले विगतमा घण्टौँ हिँडेर र लाइन लागेर पानी ल्याउनुपर्ने कष्टकर अवस्था सम्झिदै भनिन् ।
दुल्लु नगरपालिका–६ का छविलाल रावलले पनि आधा घण्टा टाढाबाट पानी बोक्नुपर्दा बालबालिका र महिलाहरू रातीसमेत जान बाध्य हुनुपर्ने अवस्था रहेको बताए। तर, अहिले पानी घरघरमै पुगेपछि समयको ठूलो बचत भएको अनुभव उनले सुनाएका थिए ।
हाल अधिकांश धारामा नियमित पानी आइरहेको र केही धारामा हप्तामा ४÷५ दिन पानी उपलब्ध हुने मधु उपाध्यायले जानकारी दिइन् । 'एक घर एक धारा' नीतिअन्तर्गत मासिक २०० रुपैयाँ शुल्क लिइने र उठेको रकम कर्मचारी पारिश्रमिक तथा मर्मत सम्भारमा खर्च गरिने उनले जानकारी दिइन् ।