काठमाडौँ । उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) भेटिएका छन् । ती सवारीसाधन आइतबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर, हात्तिसार,एयरपोर्ट,सिफल,पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
बुझाइएका ४१ वटा सहित ५२ वटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको जनाएको छ ।