काठमाडौँ । दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम किओन–ही भ्रष्टाचार तथा पूँजी बजार हेरफेरलगायतका आरोपमा मंगलबार राति पक्राउ परेकी छन्।
सियोल सेन्ट्रल जिल्ला अदालतले अभियोजकहरूको निवेदन पुनरावलोकन गर्दै पक्राउ पुर्जी जारी गरेलगत्तै ५२ वर्षीया किमलाई नियन्त्रणमा लिइएको हो।अभियोजकहरूले उनको कथित गैरकानुनी गतिविधि सम्बन्धी ८४८ पृष्ठको प्रतिवेदन अदालतमा पेस गर्दै, उनी प्रमाण नष्ट गर्न सक्ने उच्च जोखिममा रहेको दाबी गरेका थिए।
यस गिरफ्तारीसँगै दक्षिण कोरियाको इतिहासमा पहिलोपटक एकैसाथ पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला जेल पुगेका छन्। किममाथि पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानून, राजनीतिक कोषसम्बन्धी कानून तथा निर्वाचन ऐन उल्लङ्घनको आरोप लगाइएको छ।
गत डिसेम्बरमा उनका पति तथा तत्कालीन राष्ट्रपति युन सुक–योलले संसद् अवरुद्ध गर्न सैनिक तैनाथ गरेका थिए। विपक्षी सांसदहरूले सुरक्षा अवरोध पार गर्दै मतदानमा भाग लिएपछि, संसद्ले दुई–तिहाई मतका साथ महाभियोग प्रस्ताव पारित गरेको थियो। युनलाई अप्रिलमा पदच्युत गरी जुलाई १० देखि हिरासतमा राखिएको छ।
किमबारे विवाद लामो समयदेखि चलिरहेको थियो। सन् २०२२ मा बामपन्थी पास्टरबाट प्राप्त डायर ह्यान्डब्यागको भिडियो सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा परेकी थिइन्। साथै, युनको पार्टीभित्र सांसद मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि छ। राष्ट्रपति रहँदा युनले किमविरुद्ध विशेष छानबिनका लागि संसद्ले पारित गरेका तीन विधेयकमा भिटो लगाएका थिए।
जेल नियमअनुसार किमले अब खाकी रंगको जेल पोशाक लगाउनेछिन् र कैदी नम्बर पाउनेछिन्। गर्मीको लहरका बीच उनलाई १० वर्ग मिटरको एकान्त कोठामा राखिएको छ, जहाँ पंखा त छ तर एसी छैन। कोठामा एउटा सानो टेबल, शेल्फ, सिङ्क र शौचालय छ, तर ओछ्यान छैन। बिहानको खाजामा रोटी, जाम र ससेज दिइएको छ।
अभियोजकको अनुरोधअनुसार उनलाई उनका पति युनको कैदी गृहबाट २० किलोमिटर टाढाको छुट्टै हिरासत केन्द्रमा राखिएको छ। पूर्वराष्ट्रपतिको परिवारलाई दिइने सुरक्षा सुविधा भने तत्काल अन्त्य गरिएको छ।
कानूनविद् किम नाम–जुका अनुसार, प्रारम्भिक रूपमा किमलाई २० दिनसम्म थुनामा राख्न सकिन्छ, तर आरोप पुष्टि भएमा यो अवधि कम्तीमा छ महिनासम्म लम्बिन सक्छ। यद्यपि, वारेन्ट गैरकानुनी भएको दाबी गर्दै उनले अदालतमा चुनौती दिन सक्नेछिन्। तर प्रमाण नष्ट गर्ने आशंका उच्च भएकाले रिहा वा जमानत पाउने सम्भावना न्यून देखिन्छ।