काठमाडौँ । बाहुनको छोरालाई बासी भात खुवाएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेलले निर्घात कुटपिट पछि भान्सेलाई सेवाबाटै बर्खास्त गरिदिएका छन् ।
नेपाल प्रहरीमा कार्यालय सहयोगी पदमा कार्यरत भान्से शंकर कार्कीलाई डिएसपी खरेलले र प्रहरी निरीक्षक रुपेश शाहले डीएसपी क्वाटरमा निर्घात कुटपिट पछि तिन दिन सम्म हिरासतमा राखेर प्रहरी सेवाबाटै बर्खास्तको पत्र थमाइदिएका हुन् ।
हेटौडा रातमाटेमा दरबन्दी रहेको कार्यालय सहयोगी कार्की साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा काज आएका थिए । डिएसपीको भान्से बसेका कार्कीलाई डीएसपी खरेलले साउन २२ गते दिउँसो आफू बाहुनको छोरा भए पनि बासी भात खुवाएको भन्दै निर्घात कुटपिट गरेको आरोप कार्कीले लगाएका छन् ।
डीएसपी साबले नै देख्ने गरेर खाना बनाएको थिए,तर खै किन हो एक्कासि मुख छाड्दै किन बासी भात खुवाइस् भन्दै कुट्न थाले भान्से कार्कीले भने–‘ डिएसपीले कुट्दै थिए पछि इन्स्पेक्टर साब पनि आएर कुट्न थाल्नु भयो ।
डीएसपीको मेसमा इन्स्पेक्टरहरूलाई पनि खाना पकाउने गरिएको र पहिला इन्स्पेक्टरहरूलाई खाना खुवाएपछि डीएसपीलाई खाना पकाएको थिए । भान्से कार्कीले भने डीएसीपी साबले सात्त्विक भोजन गर्ने भएकाले लसुन प्याज नहालेर अर्को भाँडामा डिएसपी ले नै देख्ने गरेर खाना पकाएको बताए ।
खाना तयार गर्दै थिएँ, मिटिङमा जानु पर्ने भयो पछि आएर खान्छु भन्दै डिएसपी साब जानु भयो,भान्से कार्कीले भने–उहाँ आएपछि रोटी लगायत खानेकुरा दिएँ तर किन बासी दिएको भन्दै खाते लगायत सुन्नै नसक्ने गरेर गाली गर्न सुरु गर्नु भयो । गाली गरेपनि आफूले ट्रे मा पानी लिएर जाँदा एक्कासि दुई मुक्का प्रहार गरेको र तेस्रो पटक पनि हान्न खोजेपछि ट्रे ले रोक्न खोज्दा ट्रे फुटेर डीएसपी साबलाई लागेको जस्तो लाग्यो ।
कुटपिटपछि आफू बाहिर आएर भाडा माझ्न थाल्दा इन्स्पेक्टर रुपेश शाह आएर ‘तँलाई प्रहरीको नियम थाहा रहेनछ’ भन्दै कुट्दै हिरासत कक्षमा लगेर थुनेको कार्कीले बताए ।
साउन २३ गते आमाको श्राद्ध थियो,तर मलाई हिरासत कक्षमा राखेर घरमा जान नदिएको र हिरासतमा हुँदा पनि इन्स्पेक्टर शाहले बाहिरी चोट नदेखाई यसलाई मार्नुपर्छ भन्दै आफूलाई कुटेको कार्कीले बताए ।
यो मरे पनि केही हुँदैन भन्दै हत्तकडी लगाएर कुटेपछि आफू बेहोस भएको र अस्पतालमा लगिदिनु भन्दा समेत नलगेको कार्कीले बताए । उनले रुँदै भने,म कुट्दा कुट्दै बेहोस भएछु पछि होस आउँदा मलाई एकदम गाह्रो भएको थियो अस्पताल लगिदिनुहोस् भन्दा दुई घण्टा पछि मात्रै चौतारा अस्पतालमा लगेको थियो ।
परिवारका अनुसार, अचेत हुने गरी कुटपिट गरेपछि विभागीय कारबाहीको नाममा उनलाई परिवार र आफन्तलाई भेट्न नदिई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । रिपोर्टमा बाहिरी चोटपटक नदेखिए पनि टाउको झमझम गर्ने, छाती दुख्ने र सास फेर्न गाह्रो भएको कार्कीको भनाइ छ । उनलाई घटनाको तीन दिनसम्म परिवारसँग भेटघाट गर्न दिइएको थिएन भने मोबाइल फोन समेत कब्जा गरी राखिएको थियो ।
डिएसपीलाई कुटेपछि विभागीय कारबाही : एसपी
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्की भने डिएसपी र इन्स्पेक्टरलाई भान्से कार्कीले कुटेपछि आफूहरूले विभागीय कारबाही गरेको बताउँछन् ।
खाना पकाउने क्रममा डीएसपी साबले गाली गर्नुभएछ, मान्छे अलि सन्का रहेछ डिएसपी साबलाई ट्रेले हानेछ,पछि नियन्त्रणमा लिनेक्रममा इन्स्पेक्टर साब लाई पनि कार्कीले दुई लात्ती हानेछ एसपी कार्कीले भने–‘चेन अफ कमान्ड तोडेपछि माथिसम्म रिपोटिङ हुँदै उनलाई बर्खास्त गरिएको हो ।’
एउटा भान्सेले डिएसपी र इन्स्पेक्टरलाई हात हाल्न सक्छ त रु भन्ने नेपाल प्रेसको जिज्ञासामा एसपी कार्की भन्छन् मान्छे प्रेसरवाला रहेछ,केही हुन्छ कि भनेर यसो मिडियामा गएछन्,पत्रकारहरूले दया गरेर समाचार लेखिदिएछन् तर डीएसपी र इन्स्पेक्टरलाई उसले कुटेकै हो ।