काठमाडौँ । सुर्खेतको लेकवेशी नगरपालिका –८ चन्द्रपुरको घनाजंगलभित्र, शिरमा ढाका टोपी, काँधमा झोला, हातमा विरुवा र कोदालो बोकेर माटो खन्दै थिए सुबिराम शाही । उनी न त वनकर्मी, न त वातावरण अभियन्ता—उनी हुन् राउटे समुदायका ३४ वर्षीय युवा, जसको जीवन रुख काट्दै यहाँसम्म पुगेको थियो । तर, आज उनी रुख रोप्ने पुस्ताको अगुवा बनेका छन् ।
विरुवा वृक्षारोपण गर्नेको लस्करमै थिए अर्का राउटे युवा हिरासिंह शाही र नर बहादुर शाही । उनीहरु पनि विरुवा रोप्नमै तल्लिन देखिन्थे । कर्णालीका खोला, डाँडापाखा र जङ्गलमा युगौँयता घुमन्ते–फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको जंगलसँगको सम्बन्ध अहिले बदलिँदैछ । परम्परागत रूपमा जंगललाई केवल जीविकाको स्रोत मात्र मान्ने र रूख काटेर काठका सामग्री बनाउने यो समुदाय अब रुख रोप्न थालेको छ । जहाँ एक समय थियो पैसा छोए पाप ठान्ने सोच थियो, अहिले यो समुदायले प्रकृतिको आवश्यकता बुझ्न थालेका छन् । प्रकृतिको आवश्यक्ता र श्रमको मूल्य बुझ्न थालेकै कारण उनीहरु वृक्षारोपणमा अग्रसर हुन थालेका छन् ।
राउटेहरूको परम्परागत जीविका काठका सामग्री कोसी, डाडु, पन्यु, पिर्का, मधुस आदि बनाउनमा आधारित थियो । यिनको स्रोत जंगल नै थियो । तर सामुदायिक वन संरचना विस्तार भएसँगै उनीहरूको निर्भरतामा केही अप्ठेरो आएको छ । जंगलमा भनेअनुसारका काठ पाउनै छोडे । अन्त उनीहरु विरुवा वृक्षारोपणमा जुटेका छन् ।
हामी र हाम्रो पुर्खाले रुख मात्र काट्ने गरेपनि रोप्ने हुँदैन थियो तर, आफुहरु अब रुख काट्नेसँगै रुख पनि रोप्न थालेको वर्ष ३४ का सुबिराम शाही बताउँछन् । ‘हामी अब केवल रुख मात्र काट्दैनौँ, रोप्छौँ पनि,’ शाहीले भने । राउटे समुदायले एकसयवटा विरुवा रोपेका छन् । विरुवा रोप्नु राम्रो भएको र रोपेको विरुवा हाम्रो भएको उनी बताउँछन् ।
लेकवेशी नगरपालिका–१० स्थित चन्द्रपुरमा अहिले बसोबास गरिरहेको राउटे समुदायले खाँणादेवी सामुदायिक वनमा पुगेर बिरुवा रोपेका थिए । ‘बाँच्नलाई जंगल चाहिन्छ, त्यसैले जोगाउने पनि हामी नै हो,’ प्रकाशले थपे ।
कर्णाली प्रदेश सरकारले सात वर्षअघि नै सामुदायिक वन उपभोक्ता समूह गठन गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको थियो । तर यथार्थमा त्यो कार्यान्वयन नहुँदा विवाद बारम्बार सतहमा आउने गरेको छ ।
लेकवेशी नगरपालिकाका मेयर उमेश पौडेल भन्छन्, ‘राउटे समुदायलाई बिरुवाको मूल्य बुझाउने प्रयास हो । उनीहरू रुख काट्न आउँछन्, तर अब रोप्न पनि जान्नुपर्छ भन्ने सन्देश दिन वृक्षारोपणमा सहभागी गराएका हौँ ।’
वृक्षारोपण कार्यक्रममा राउटे पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वृक्षारोपणमा ४० जना राउटे पुरुषहरुको सहभागीता थियो । खाल्डा खन्ने र बिरुवा रोप्ने सिपमा राउटे पुरुषहरु हामीभन्दा अब्बल रहेको लेकवेशी नगरपालिका – ८ का वडा अध्यक्ष एवं सामुदायिक वनका अध्यक्ष टिकाराम छन्तेल बताउँछन् । राउटे समुदायलाई वृक्षारोपणमा प्रेरित गर्नका लागि राउटेको लागि छुट्टै वन घोषणा गर्नुपर्ने छन्तेल बताउँछन् । राउटे समुदायलाई प्रेरित गर्न छुट्टै वन घोषणा गर्नुपर्छ,’ उनले भने, ‘जस्मा राउटे समुदायले अपनत्व महशुस गरेर वृक्षारोपण पनि गरोस् र रुख पनि काटोस् ।’
उनीहरूलाई अब बिरुवा रोपेर हुर्काउने जिम्मेवारी पनि दिइने योजना रहेको उनले बताए । यसअघि दैलेखको गुराँस गाउँपालिका–५ मा गुराँस गाउँपालिका पुर्व अध्यक्ष खेमराज वलीको कार्यकालमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नौ दिनसम्म राउटेहरू बिरुवा रोपणमा खटिएका थिए । पाँच सय टिमुरका बिरुवा रोपिएको थियो, ज्यालास्वरूप प्रतिदिन रु. ५१७ प्रदान गरिएको थियो । त्यो अनुभवले उनीहरूलाई श्रमको मूल्य र प्रकृतिको सम्बन्ध दुबै बुझायो । उनीहरुले वृक्षारोपण गरेका विरुवाहरु हुर्किदै गएको जोडी शिक्षक लाल बहादुर खत्रीले बताए ।
अहिले विरुवा रोपेमा भोली छोरानातीका दिनसम्म सहज हुने भन्दै विरुवा रोपेको अर्का राउटे युवा हिरासिंह शाहीको भनाई छ ।
‘अब हामी जहाँ जहाँ जान्छौँ, त्यहाँ विरुवा रोप्छौँ,’ हिरासिंह भन्छन्, ‘हिजो हाम्रा पुर्खाले रुख काट्ने मात्र काम गरे, रोपेनन् जस्ले आज हामीलाई कु–काठ पाउन समस्या भएको छ । अहिले हामीले रुख रोप्यौँ भने हाम्रा सन्तानले कु–काठ र रुखको शितल छायाँ पाउँन् भनेर हामीले विरुवा रोपेका छौँ र आगामी दिनमा पनि यसै गरि विरुवा रोप्छौँ ।’
राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका जोडी शिक्षक लालबहादुर खत्री भन्छन्, ‘पहिला त हामीले जंगलभरि रुख नै रुख देख्थ्यौँ, अहिले त रुख पाउनै मुश्किल हुन थालिसक्यो । राउटे समुदायमा केही चेतना आएको छ, तर उनीहरूको जीवनशैली अझै पनि रुखमा निर्भर छ ।’
उनका अनुसार, एक ठाउँबाट अर्को ठाउँ बस्ति सरिसकेपछि राउटेहरूले एक थान घर बनाउन ८ देखि १० वटा रुख मास्छन्, र दैनिक प्रयोगका भाडाकुडा बनाउन हप्तामा २–४ वटा रुख काट्ने गर्छन् । ‘अब उनीहरूले बिरुवा रोप्न थालेका छन्, श्रमको मूल्य बुझ्न थालेका छन् । तर अझै ठूलो फड्को मार्न बाँकी छ,’ खत्रीको निष्कर्ष छ।विरुवा रोपेमा भोली छोरा नातीलाई हुन्छ छोरा नातीले हाम्रा जस्तो दुःख गर्न पर्दैन । विरुवा रोप्नु राम्रो काम भएको शेर बहादुर शाही बताउनछन् ।
राउटे समुदायका अर्का सदस्यले भने, ‘अब त सिमलजस्ता काठहरू पाउनै मुस्किल छ। त्यो नै हाम्रो जीवन चलाउने आधार थियो । अहिले सोच्न थाल्यौँ—यस्ता काठहरू रोपेर राखे भोली हाम्रा सन्तानलाई काम लाग्छ ।’
उनी थप्छन्, ‘हामीले त पुर्खादेखि विरुवा रोप्ने काम गरेनौँ । रोप्न नहुने भन्ने मान्यता थियो । तर अहिले चाहिँ रुख पनि रोप्न थालेका छौँ । पहिले त रुख काट्न मात्र आउँथ्यौँ, काट्थ्यौँ पनि । अहिले भने रुख रोप्न सक्ने भयौँ भन्ने महसुस हुँदैछ ।’
राउटे समुदाय केही समय अघि सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर –११ चन्दनपुरबाट असार २२ गते सरेर सुर्खेतकै लेकवेँशी नगरपालिका १० झुप्राखोला बसोबास छ ।
४० घरपरिवार रहेको छ उनीहरुको जनसंख्या १३६ रहेको छ । राउटे समुदाय पछिल्लो सातवर्ष यता १०३ ठाउँमा बसाइसरेको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्रीले जानकारी दिए ।