काठमाडौँ । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। ढाकास्थित बसुन्धरा किंग्स एरिनामा नेपाली समय अनुसार ६स्४५ मा खेल सुरू हुनेछ। श्रीलंकाविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाली टोली आज दोस्रो जितको खोजिमा हुनेछ । नेपाली टोलीलाई अब अंकको मात्रै होड नभइ, गोलको वर्षा पनि आवश्यक छ।
नेपालले दोस्रो खेलमा घरेलु टोलीसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । त्यो हारले नेपाली टोलीको उपाधितर्फको बाटो जति जटिल बनाएको छ। अब आउने खेलहरू नेपालले फराकिलो जित निकाल्नु पर्ने हुन्छ। नेपालले विशेषतः भुटान र श्रीलंकामाथि आफ्नो दबदबा छोड्न सक्नुपर्छ।
श्रीलंका यस प्रतियोगितामा हालसम्म सबैभन्दा कमजोर टोलीको रुपमा देखिएको छ । बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को नतिजाले यसलाई प्रमाणित गर्छ। यो टोलीसँग नेपालले फराकिलो जित निकाल्नुपर्छ।
नेपाली महिला उमेर समूह टोलीले श्रीलंकासँग यसअघि मात्र एक खेल खेलेको छ । सन् २०२१ को यू–१९ च्याम्पियनसिपमा भएको भेटमा नेपालले श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।
आजको खेलमा भुटानविरुद्ध चार गोल र बंगलादेशविरुद्ध निर्णायक पास दिने पूर्णिमा राई नेपाली टोलीको मुख्य हतियार हुनेछिन्। नेपालको टिममा आज केही परिवर्तनहरू हुनेछ। केही मुख्य खेलाडीहरूलाई नेपाली प्रशिक्षक याम प्रसाद गुरुङले आराम दिन सक्छन्।
त्यस्तै,सेनु परियार आफूलाई दिइएको भूमिकामा उत्कृष्ट देखिएकी छिन्। उनको गति र पोजिसन बुझ्ने क्षमताले नेपाली स्ट्राइकरमा उनको भविष्य उज्वल देखिन्छ। श्रीलंकाजस्तो प्रतिद्वन्द्वीविरुद्ध उनले अझै आक्रामक उपस्थिति देखाउन सक्नेछन्। तर,सुरुवाति ११ मा कसले मौका बनाउँछ उसले आजको खेलमा आक्रमक तरिकाले खेल्न सक्नुपर्छ। कुन खेलाडीलाई मैदानमा उत्रार्ने भन्ने अन्तिम निर्णय मुख्य प्रशिक्षक र अफिसियल टिमकै हुनेछ।
बंगलादेशविरुद्धको अन्तिम सेकेन्डसम्म गुमाइएको एकाग्रता नेपाली टोलीका लागि चेतावनीको घण्टी हो। अब हरेक मिनेटमा योजना, अनुशासन र आत्मबल आवश्यक हुनेछ। त्यसैले, श्रीलंका अब एउटा मात्र प्रतिस्पर्धी नभइ उपाधितर्फको समीकरणको प्रमुख खुड्किलो पनि बनेको छ। नेपालले अब हर स्ट्राइकलाई निर्णायक बनाउँदै,पूर्ण समर्पणसाथ मैदानमा उतार्नु जरुरी हुन्छ।
नेपाली टिममा आज केही परिवर्तन पक्कै देखिनेछ। घरेलु टिम बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीले आज मुख्य खेलाडीलाई आराम दिएर विकल्प हेर्नेछ। रातो कार्ड पाएकी सिम्रन राईको स्थानमा सरिता नाथले टिममा मौका बनाउन सक्छिन्। दुवै खेलमा सुरुवाति ११ माा स्थान बनाएकी सिम्रन राईले कम्तीमा आजको खेल गुमाउनेछिन्। बंगलादेशसँगको खेलमा ५६ औं मिनेटमा सिम्रनले रातो कार्ड मैदानबाट बाहिरिएकी हुन्। उनले कम्तीमा १ खेल खेल्न पाउँदिनन्।
घरेलु टिम बंगलादेश लगातार २ जितका साथ ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। नेपाल र भुटानको सामान ३ अंक छ । तर, गोल अन्तरले नेपाल दोस्रो स्थानमा रहेको छ भने अघिल्लो २ खेलमा लगातार हार बेहोरेको श्रीलंका पुछारमा छ।