सिरहा । राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ । कार्यालयकाअनुसार विसं २०८० मङ्सिरमा ल्याइएका राँगाबाट २०८१ सालको जेठदेखि वीर्य उत्पादन सुरु भएको थियो ।
हालसम्म १० हजारभन्दा बढी डोज उत्पादन गरी करिब ५०० डोज किसानसम्म वितरण गरिसकिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिए । उनले भने, “भारतबाट ल्याइएका मुर्रा जातका पाँच राँगाबाट २०८१ सालको जेठ÷असारदेखि वीर्य उत्पादन सुरु गरिएको हो । हाल १० हजारभन्दा बढी डोज उत्पादन भइसकेको छ र करिब ५०० डोज किसानलाई वितरण गरिएको छ । कोशी र मधेस प्रदेशका अधिकांश जिल्लामा यसको माग उच्च छ ।”
उनले थप जानकारी दिँदै भने, “वीर्य तरल नाइट्रोजनमा सुरक्षित राखी दक्ष जनशक्ति रहेका सरकारी तथा गैरसरकारी पशु सेवा केन्द्रमार्फत वितरण गरिन्छ । हाल यस कार्यालय अन्तर्गतका २३ जिल्लाका २४० स्थानीय तहमा २९० केन्द्र सक्रिय छन् र ८६० तालिमप्राप्त प्राविधिक संलग्न छन् ।”
कार्यालय प्रमुख महतोका अनुसार, मुर्रा राँगाको वीर्यको माग कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा अत्यधिक छ । यस्ता मागलाई सम्बोधन गर्न कार्यालयले कोशी, मधेस र बाग्मती प्रदेशको सिन्धुलीसहित २३ जिल्लामा सेवा विस्तार गरेको छ ।
भारतबाट ल्याइएका पाँच मुर्रा राँगाबाट हप्तामा दुई पटक वीर्य निकालिन्छ । गिर र साहिवाल प्रजातिका गाईको प्रजनन पनि सोही कार्यालयमार्फत हुँदै आएको छ । धार्मिक मान्यताअनुसार जुरो भएको गाईको दूधको बढी माग रहेकोले ती प्रजातिको वीर्यको पनि माग उच्च छ ।
पशुपालन सुधारका लागि भारत सरकारले नेपाललाई विसं २०८० जेठमा १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो । तीमध्ये पाँचवटा लहान, सातवटा पोखरा र तीनवटा नेपालगञ्जस्थित राष्ट्रिय पशु प्रजनन् केन्द्रमा राखिएको थियो ।
सरकारले रैथाने भैंसी प्रजातिको नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउने पहल गरेको हो । जसले दुध उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ ।