काठमाडौँ । शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको बैठक बस्दैछ। गत असार १६ गते अन्तिम सहमति जुटाउन बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुनस् छलफल गर्न आज बैठक बोलाइको हो। बैठक दिउँसो १ बजे बस्दैछ।
आजको बैठकमा विवादित विषयमा सहमति जुटाएर समितिबाट पारित गर्ने तयार रहेको जनाइएको छ। गत असार १६ गते बसेको समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षा विधेयकमा छलफलका लागि अझै केही समय माग गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिलेको अवस्थामा नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने धारणा राखेका थिए। घिमिरेले शिक्षकहरूसँग छलफल बाँकी नै रहेकाले अहिले विधेयक पारित नगर्न सुझाव दिएका थिए।
कांग्रेस सचेतकको धारण र शिक्षामन्त्रीले छलफलका लागि समय माग गरेपछि सांसदहरूले असन्तुष्टि जनाएका थिए । तर, छलफलपछि समिति सभापति अम्मर बहादुर थापाले समितिले सहमति गरेका विषयबाट ब्याक नहुनेगरी सहमति कायम गर्न शिक्षामन्त्रीलाई आग्रह गरेका थिए।
त्यसअघि बैठकमा शिक्षा मन्त्री पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पास गर्न केही रोक्न आग्रह गरे। उनले सरकारको सहमतिबिना विधेयक पारित गर्ने अभ्यास अहिलेसम्म नरहेको बताए।
समिति सदस्यहरूले भने असार १६ गते नै समितिबाट विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए । माओवादी सांसद रेखा शर्मा,एमाले सांसद विद्या भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठलगायतका सांसदहरूले सहमतिमा यसअघि भएका सहमतिलाई आधार मान्दै विधेयक अघि बढाउन माग गरेका थिए।
विधेयकमा अस्थायी,करार र राहत शिक्षकलाई आन्तरिकबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशतलाई स्थायी गर्ने व्यवस्था छ । तर, नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ । शिक्षामन्त्रालयले नै गरेको वार्तामा शिक्षकहरूले आफ्नो अडान कायमै रहेको जनाएका थिए ।