काठमाडौँ । श्रीमती लिन ससुराली घर पुगेका ज्वाइँ र ससुराली परिवारबीच विवाद हुँदा शनिवार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्दलेमा एकै परिवारका चार जनाको हत्या भएको छ ।
हत्यामा संलग्न ज्वाइँ भनिएका राजेन्द्र राईले पत्नीसहित चार जनाको हत्या गरेपछि आफैंले प्रहरीलाई फोन गरेर जानकारी दिएको भोजपुर प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गएराति सवा १ बजे राईले प्रहरीलाई फोन गरेर, ‘मैले चार जनाको हत्या गरेको छु, मलाई पक्राउ गर्न आउनु,’ भनेका थिए । घटनास्थल सदरमुकामभन्दा ३२ किलोमिटर दक्षिणपश्चिम पर्छ ।
भोजपुर नगरपालिका–२, हेलौंछा घर भएका राजेन्द्र राई पत्नी लिन शनिवार रामप्रसाद राई गाउँपालिकामा रहेको ससुराली पुगेका थिए । ससुराली पुगेपछि ससुरा बेलबहादुर गिरीसँग विवाद भएपछि राईले ससुरासहित सासु मञ्जु गिरी, पत्नी मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेको प्रहरीले बताएको छ ।
भोजपुर प्रहरीका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार, राति सुतेको अवस्थामा सासु मञ्जुले आफूलाई चक्कु प्रहार गरेपछि आफूले पनि त्यही चक्कु खोसेर चारै जनाको हत्या गरेको राजेन्द्रले प्रारम्भिक बयान दिएका छन् ।
राजेन्द्रको पनि शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि ठूला अस्पतालमा उपचारका लागि पक्राउ गरी पठाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पत्नी मनिषा एक महिनादेखि माइतमा आएर बसेकी थिइन् । राजेन्द्र उनलाई लिन पुगेपछि उनी र ससुराली पक्षबीच मनिषाको विषयमा विवाद भएको थियो । चारै जनाको शरीरका विभिन्न स्थानमा चक्कुले यत्रतत्र काटिएको अवस्थामा लाश फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
यसअघि २०७४ सालमा भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा ८, १४ र १५ वर्षका तीन बालबालिकाको एकैपटक रहस्यमय हत्या भएको थियो ।
हत्या हुनेमा चेतनाथ फुयालकी १४ वर्षीया छोरी सुष्मा, ८ वर्षीय छोरा प्रदीप र छिमेकी रविन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जीत थिए । उनीहरूको हत्याको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनीहरूको शव चेतनाथको घरदेखि करिब सय मिटर पर तोरणबहादुर कार्कीको पोखरीको डिलमा फेला परेको थियो ।