काठमाडौँ । कर्णाली प्रदेश र आसपासका जिल्लाका जंगलमा घुमन्ते फिरन्ते जीवन बिताउने राउटे समुदाय, जो कहिल्यै बाहिरी समाजसँग घुलमिल हुँदैनथे, तर, उनीहरूको जीवनशैलीमा पछिल्ला समय उनीहरुमा परिवर्तन आइरहेको छ । अब उनीहरू केवल जंगलमै सीमित छैनन्, बरु आफ्ना हक अधिकारका लागि स्थानीय सरकारको ढोका ढकढकाउन थालेका छन् ।
असार १० गते गुराँस गाउँपालिकाको १६औँ बजेट अधिवेशनमा पुगेर राउटे समुदायका युवा दीपक शाही र बन्दबिर शाहीले आफ्नो समुदायका लागि आवश्यक पर्ने गास, वास र कपास समयमै उपलब्ध गराउन आग्रह गरे । राउटे युवा दीपक शाहीले विशेषगरी खाद्य वस्तु लगायतका अन्य आवश्यक सामग्रीको समयमै बन्दोबस्त गर्नुपर्ने माग राखेका थिए । घुमन्ते जीवन बिताउने राउटे समुदायलाई सामाजिक मूलधारमा ल्याउने प्रयासस्वरूप दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा
उनीहरूलाई स्थायी परिचयपत्र वितरण गरेको थियो । तत्कालीन पालिका अध्यक्ष खेमराज वलीको कार्यकालमा राउटे समुदायलाई नेपाली नागरिकका रूपमा स्थापित गर्नका लागि यो पहिलो पटक स्थायी परिचयपत्र वितरण गरिएको थियो ।

सोसेक नेपालद्वारा राउटे समुदायमा कार्यरत स्वास्थ्यकर्मी बिनोद बिसीका अनुसार, राउटे समुदाय पालिकाको बजेट अधिवेशनमा सहभागी भएको यो दोस्रोपटक हो । “उहाँहरू गत वर्षको बजेट अधिवेशनमा पनि सहभागी हुनुभएको थियो,” बिसीले भने, “यो पटक पनि पुग्नुभयो र आफ्ना कुराहरू पनि राख्नुभएको थियो ।” राउटे युवाहरुको यस्तो सहभागिताले राउटे समुदाय अब सरकारी निकायहरूसँग प्रत्यक्ष संवाद गर्न हिचकिचाउँदैनन् भन्ने स्पष्ट संकेत समेत दिएको छ ।
गुराँस गाउँपालिकाले पनि राउटे समुदायका लागि आफ्ना नीति तथा कार्यक्रममा केही महत्तवपूर्ण विषयहरू समावेश गरेको छ । गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीका अनुसार, नेपाल सरकारले दिने भत्ताको सदुपयोग होस् भन्नका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । यसका लागि सिमा सचेतना कार्यक्रम र नजिकको स्थानीय तह तथा प्रहरीचौकीसँग सहयोग लिइनेछ । “गुराँस गाउँपालिकाले पनि एकजना नगर प्रहरी नियुक्त गरेर त्यहाँ पठाउने नीति तथा कार्यक्रममा समावेश गरेका छौँ,” अध्यक्ष बिसीले भने,' ।
उनले जंगली जनावर वा प्राकृतिक विपत्तिभन्दा पनि ‘शिक्षित समुदाय’ बाटै बढी खतरा रहेको औंल्याएका छन । “राउटेलाई खतरा हुनुपर्ने अन्य प्राकृतिक विपत्तिबाट हो,” उनले भने, “तर, त्यो भन्दा पनि शिक्षित समुदाय भन्नेबाट नै बढी खतरा भयो ।”
अध्यक्ष बिसीका अनुसार, केही बाहिरी मानिसहरूले राउटे समुदायलाई जथाभावी दुरुपयोग गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न भेटघाटको पनि नियम बनाउने तयारी भइरहेको छ । “आवश्यकता अनुसार मात्र भेटघाट दिने गरी नियम बनाउँदै छौँ,” अध्यक्ष बिसीले स्पष्ट भने ।
राउटे समुदायको घुमन्ते जीवनशैलीलाई सम्मान गर्दै गाउँपालिकाले उनीहरूलाई स्थायी बसोबासका लागि समेत पहल गर्ने योजना रहेको अध्यक्ष बिसीले जानकारी दिए । अध्यक्ष बिसीका अनुसार, यदि राउटे समुदायले मान्न तयार भएमा स्थायी बसोबासका लागि ठाउँ छुट्याउने र उनीहरूकै शैलीका घरहरू बनाएर स्थायी बसोबासका लागि पहल गरिनेछ । “उहाँहरू तत्काल मान्न त मान्नुहुन्न तर, पनि हामी प्रयास गर्दैछौँ, उहाँहरूले मानेपछि स्थायी बसोबासका लागि हामी उहाँहरूकै शैलीका घरहरू निर्माण गरेर स्थायी बसोबासका लागि पहल गर्छौँ,” उनले भने ।
अध्यक्ष बिसीका अनुसार गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ७३ करोड ६१ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ २४ पैंसा बजेट विनियोजन भएको जनाएको छ ।
राउटे समुदायमा काठका सामग्री बनाउने विशेष सीप छ, तर यसलाई सही रूपमा सदुपयोग गर्न सकिएको छैन । उनीहरूको काठमा भाँडाकुँडा बनाउने शैली आधुनिक शैलीभन्दा फरक छ । यसैलाई ध्यानमा राख्दै गाउँपालिकाले उनीहरूको सीपलाई थप निखार्न र आधुनिक शैलीका सामग्री बनाउन तालिम दिने योजना पनि बनाएको छ । राउटे समुदायले मदुस र कोसीबाहेक अरू बनाउन आउँदैन, हामी काठका अन्य सामग्री बनाउन तालिम दिने योजना रहेको अध्यक्ष बिसीको भनाई छ ।