काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन्।
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले नेतान्याहुले वर्तमानमा हमाससँग बन्धक फिर्ता सम्बन्धी वार्ताको नेतृत्व गरिरहेका बेला उनलाई अदालतमा दिनभर उपस्थित हुन बाध्य बनाइनु “न्यायको उपहास” भएको बताएका हुन्।
नेतान्याहु हाल केस १०००, २००० र ४००० नामक तीन फरक मुद्दामा घुस, ठगी र विश्वासघातका आरोपमा अनुसन्धानको घेरामा छन्। उनले भने ती सबै आरोपलाई “नक्कली” भन्दै अस्वीकार गर्दै आएका छन्।
पूर्वराष्ट्रपति ट्रम्पले भने, “बीबी ९नेतान्याहु० एक युद्ध नायक हुन्। उनले इरानसँगको आणविक संकट व्यवस्थापनमा अमेरिकासँग मिलेर उत्कृष्ट काम गरेका छन्। अहिले यस्तो अवस्थामा, जब उनी बन्धक फिर्ता वार्ताको नेतृत्व गरिरहेका छन्, उनलाई अदालतको कोठामा बाँधेर राखिनु दुर्भाग्यपूर्ण हो।”
उनले यो मुद्दालाई आफ्नै अघिल्लो कानुनी झमेलासँग तुलना गर्दै भने, “यो राजनीतिक प्रतिशोध हो, जस्तै मलाई गरिएको थियो। अभियोजकहरूले जुन व्यवहार नेतान्याहुसँग गरिरहेका छन्, त्यो नियन्त्रणबाहिरको पागलपन हो।”
ट्रम्पले इजरायलप्रति अमेरिकी सहयोगको सन्दर्भ उठाउँदै थपे, “संयुक्त राज्य अमेरिकाले इजरायललाई हरेक वर्ष अर्बौं डलर सहयोग गर्छ। यस्ता परिस्थितिमा हामी चुप लागेर बस्न सक्दैनौं।”
अनादोलु एजेन्सीका अनुसार सन् २०२० मा सुरु भएको यो मुद्दा इजरायलको इतिहासमा पहिलोपटक कुनै वर्तमान प्रधानमन्त्री आपराधिक आरोपमा अदालतमा प्रस्तुत भएको घटना हो। इजरायली कानुनअनुसार नेतान्याहु दोषी ठहर नभएसम्म पदमा रहन सक्ने व्यवस्था छ।