काठमाडौँ । मानव तस्करीविरुद्ध संसदभित्र आवाज उठाउँदै आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रतिनिधिसभाबाट निष्कासन गर्न माग उठेपछि कडा प्रतिक्रिया दिएकी छन्।
गौतमले संसदभित्र शान्त र शालीन ढंगले विरोध गर्दा पनि त्यसलाई ‘नियम उल्लंघन’ को नाममा दबाउने प्रयास भएको आरोप लगाउँदै भनिन्, “यदि मानव तस्करीविरुद्ध बोल्दा संसदबाट निष्कासन गरिन्छ भने निकाल्नुस्, मलाई स्वीकार छ।”
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले मानव तस्करीको विरोधमा निलो रिबन बाँधेर सहभागी भएका थिए। सोही प्रदर्शनलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूले संसद नियमावली उल्लंघन गरेको भन्दै चेतावनी दिई निष्कासनको माग गरेका थिए।
सांसद गौतमले यसबारे प्रतिकार गर्दै भनिन्, “विरोधका आयाम अनेकौं हुन्छन्। रास्वपा शान्त र सभ्य विरोधमा विश्वास राख्छ। आज मानव तस्करीविरुद्धको ऐक्यबद्धता स्वरूप निलो सल लगाएर आएको हुँ। यदि यो नियमविपरीत ठहरिन्छ भने निकाल्नुस्।”
गौतमले सत्तारुढ दलमाथि मानव तस्करी जस्तो गम्भीर अपराधलाई संरक्षण दिँदै सत्य लुकाउने प्रयास भइरहेको आरोप पनि लगाइन्। “जबसम्म निष्पक्ष उच्चस्तरीय छानबिन समिति गठन हुँदैन, हामी संसदभित्र शान्त तर प्रभावकारी ढंगमा आवाज उठाइरहनेछौं,” उनले भनिन्।
उनले पुराना शैलीका हिंसात्मक र तोडफोडपूर्ण विरोधको ठाउँ अब सभ्य र रचनात्मक आन्दोलनले लिने बताउँदै भनिन्, “नयाँ पुस्ताका सांसदहरू कुटपिट गर्न आउँदैनन्। माइक फोड्दैनन्। कुर्सी भाँच्दैनन्। तर सत्यका पक्षमा दृढताका साथ उभिन्छन्।”
गौतमको अभिव्यक्तिपछि संसदभित्र सत्ता र विपक्षबीच नयाँ बहस सुरु भएको छ। रास्वपाले मानव तस्करीका घटनामा सत्ता पक्ष संलग्न रहेको भन्दै छानबिनको माग गर्दै आएको छ।