काठमाडौँ । रौतहटको राजपुर बम काण्डमा मारिएका त्रिलोक प्रताप सिंह (पिन्टु) का बुवा श्रीनारायण सिंह राजपूत न्यायको खोजीमा काठमाडौं पुगेका छन्।
उच्च अदालतले प्रतिवादीहरूलाई सफाइ दिएपछि उनले न्याय परिषद्मा न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता गराएका छन्। उनीसँगै जेठा ज्वाइँ पनि काठमाडौं आएका छन्।श्रीनारायणले न्याय परिषद्मा दर्ता गराएको निवेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश द्वय खुशी प्रसाद थारु र अर्जुन महर्जनले बदनियतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको आरोप लगाइएको छ।
रौतहट जिल्ला अदालतले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मो. अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको थियो भने केहीलाई सफाइ दिएको थियो। उक्त फैसलाउपर सरकारी वकिल र प्रतिवादी दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए।२०८२ जेठ १४ गते न्यायाधीश थारु र महर्जनको इजलासले उक्त मुद्दामा सुनुवाइ गरेका थिए।
निवेदनमा उल्लेख भएअनुसार, करिब १२०० पृष्ठभन्दा बढीको मिसिल र प्रमाणहरू भएको गम्भीर प्रकृतिको मुद्दामा केवल ४ घण्टाको संक्षिप्त सुनुवाइको आधारमा ‘घटना नै नघटेको’ भन्ने निष्कर्ष निकालेर फैसला गरिएको थियो।
यसअघि सर्वोच्च अदालतले नै मुद्दाको गम्भीर अनुसन्धान गर्न परमादेश जारी गरेको अवस्थामा उच्च अदालतले पुरानै आधारमा टेकेर प्रतिवादीलाई उन्मुक्ति दिने मनसायले फैसला गरेको आरोप श्रीनारायणको छ।
उनले आर्थिक चलखेलको समेत आशंका गर्दै न्यायाधीशद्वयलाई निलम्बन गरी छानबिन गर्न र न्याय परिषद् ऐन तथा संविधानबमोजिम कारबाही गर्न माग गरेका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजपुरमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप मो.अफताब आलमलगायतका व्यक्तिहरूमाथि छ।